- रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा रास्वपाले जेनजी आन्दोलन हुनुमा पाँच प्रमुख कारण औँल्याएका छन् ।
काठमाडौँ, २१ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा रास्वपाले जेनजी आन्दोलन हुनुमा पाँच प्रमुख कारण औँल्याएका छन् ।
जेनजी आन्दोलन बारे रास्वपाको धारणा:
पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम भदौ २३ गतेको जेन जी आन्दोलन र २४ गतेको विध्वंशात्मक घटनापछि राष्ट्रिय राजनीति फरक मोडमा आएको छ । तर, यो मोड अप्रत्याशित र आश्चर्यजनक दुबै होइन । किनकि, ढिलो-चाँडो यस्तो हुन सक्छ भन्ने आशंका थियो । हामीले पनि निरन्तर सचेत गराउदै आएका थियौं- संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुँलिदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछाने ज्यूले कांग्रेस-एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई 'अन्तिम भोज' को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो । सभापति रवि लामिछानेज्यूले भैरहवा कारागारबाट जारी गरेको अपीलमा 'तस्करले दिएका तिम्रा हातका घडी खोस्छन्' भन्नुभएको थियो । नभन्दै त्यो दिन आयो पनि । अब त्यही हातमा हात्कडी पनि लाग्छन् ।
लोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई 'म्युजिकल चेयर' बनाएर लोकतन्त्रको आवरणमा 'दलतन्त्र' लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो र भयो पनि । अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गन्यो, त्यहीबाट बढेको आक्रोश जेन-जीको नाममा विस्फोट भएको हो । जुन सुकै शक्ति वा समूहले गैरदलीय व्यानरमा आन्दोलनको आह्वान र अगुवाई गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो ।
पहिलो:
२०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गरे । तर, उनीहरूबीचको कटुतापूर्ण प्रतिस्पर्धा, अस्वाभाविक मिलन, अविश्वासको राजनीति र सत्ता स्वार्थका कारण सरकारहरू स्थिर हुन सकेनन् । बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो । जनताको अपेक्षा अधुरै रहे । सत्ताको कुरा भए । सरकारको कुरा गरिए । तर, जनताको कुरै भएन ।
दोस्रो:
पुराना दलहरुले सरकारको नेतृत्व गर्दाका ठूला-ठूला भ्रष्टाचार काण्ड बाहिर आए । तर, प्रभावकारी छानबिन भएन । संलग्नलाई कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनुले दण्डहीनतालाई प्रश्रय दियो । जनता चरम भ्रष्टाचारका श्रृंखला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए ।
तेस्रो:
पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकेनन् । राज्यका सबै संरचना र निकायमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी कायम रह्यो । आधारभूत सेवा सुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुस नै खुवाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो ।
चौथो:
पुराना दलहरुले परम्परागत राजनीतिक शैलीलाई नै निरन्तरता दिए । जहाँ गुटबन्दी, नातावाद, कृपावाद हावी थियो । नयाँ विचार र नयाँ पुस्ताका लागि ति पार्टीभित्र खासै स्थान बन्न सकेन । जनताले पुरानै अनुहार, पुरानै भाषण र पुरानै शैलीको राजनीतिबाट देशले गति लिन नसक्ने महसुस गरे । उनीहरूले आफूलाई समेट्ने र आफ्ना सरोकारलाई सम्बोधन गर्ने कुनै ठाउँ ति दलहरूमा पाएनन् । र, नयाँ वैकल्पिक शक्तिको खोजीमा लागे ।
पाँचौं:
दशकौंको शासनकालमा पनि पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकेनन् । परिणामतः अध्ययन सकेका लाखौं युवा कामको खोजीमा विदेशिन बाध्य भए। युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले आफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेन जी आन्दोलन भयो ।
समग्रमा, अन्य विभिन्न उत्तोलकजन्य सहायक सन्दर्भ होलान् । तर, जेन जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् र आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार / कुशासन नै हो । त्यत्रो अकल्पनीय घटनापछि पनि तत्कालीन सरकार नेतृत्व दलले सत्य स्वीकार्नुको सट्टा आन्दोलनको भावना र म्यान्डेट बाहिर गएर गतिविधि गरिरहेको छ । केही सहायक कारण / घटनालाई समातेर वा अतिरञ्जित गरेर केही दल / नेता आन्दोलनको खास कारण र सत्यको विषयान्तर गर्न उद्दत छन् । यो प्रवृत्तिको निरन्तरता आगामी दिनका लागि घातक हुन सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’